बचत तथा ऋण सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरण सम्बन्धी मापदण्ड जारी

आर्थिक परिवेश

१० असोज, काठमाण्डौ ।    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरण सम्बन्धी मापदण्ड २०८२ शुक्रवार जारी गरेको छ ।

देशभर सञ्चालनमा रहेका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण तथा नियमन प्रयोजनका लागि प्राधिकरणले दर्ता अभिलेखिकरण मापदण्ड जारी गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले बताउनु भयो ।

मापदण्ड अनुसार देशभरका सबै प्रदेश र स्थानीय तहमा रहेका बचत तथा ऋणका सहकारीहरुले प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नु पर्नेछ ।

अभिलेखिकरणका लागि प्राधिकरणले आधारभूत विवरण, वित्तीय विवरण र अन्य विवरण गरी ३१ प्रकारका विवरणहरु विद्युतीय माध्यमबाट प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नु पर्ने व्यवस्था गरेको छ ।

त्यसतो दर्ता अभिलेखिकरण आगामी ६० दिन भित्र गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

माग गरिएका विवरणहरु अनलाइन माध्यमबाट प्रविष्ठ गरिसके विवरण रुजु गरी प्रकृया पुरा भएका सहकारीहरुलाई अनलाइनकै माध्यमबाट इजाजत पत्र जारी गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष शर्माले बताउनु भयो ।

दर्ता अभिलेखिकरण मापदण्डले सञ्चालन इजाजतपत्रका लागि सहकारीहरुलाई विभिन्न ६ वटा वर्गमा वर्गिकरण गरी कुल पूँजी २ करोड भएकाहरुलाई १ हजार,

१० करोडसम्म पूजी भएकाहरुलाई ३ हजार, १० करोडदेखि २५ करोडसम्म पूँजी भएका सहकारीहरुलाई ५ हजार, २५ करोड भन्दा बढी ५० करोडसम्म पूँजी भएका

सहकारीहरुका लागि ७ हजार, ५० करोडदेखि १ अर्बसम्म पूजी भएकाबचत तथा ऋण सहकारीहरुलाई १० हजार र १ अर्ब भन्दा बढी पूँजी भएका सहकारीहरुलाई १५ हजार रुपैया दस्तुर तोकिएको छ ।

कार्यक्रममा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाबीच सहकार्य गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

साझदारी पत्रमा प्राधिकरणको तर्फबाट अध्यक्ष डा.खगराज शर्मा र नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाको तर्फबाट अध्यक्ष निलबहादुर सारु मगरले हस्ताक्षर गर्नु भएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट स्थापनादेखि हालसम्म सम्पन्न भएका काम तथा आगामी योजनाका वारेमा प्राधिकरणका कार्यकारी निर्देशक डा. शेष नारायण पौडेलले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

मा प्रकाशित