मुस्ताङमा एकैदिन करिव ७ हजार पर्यटक भित्रिए

आर्थिक परिवेश

 ०८ कात्तिक, मुस्ताङ ।  धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो ।

मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गर्नुभयो । यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् ।

यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो ।

कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।

मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाउनुभयो ।

हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताउनुभयो ।

चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताउनुभयो ।

सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो ।

पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ ।

मा प्रकाशित