नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्ने

आर्थिक परिवेश

१५ कार्तिक, काठमाण्डौ ।    नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको शनिवार सम्पन्न साधारणसभाले सरकारी, राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता ठूला सहरी परियोजनाका लगानी गर्ने निर्णय गरेको हो ।

त्यसका अतिरिक्त साधारणसभाले कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडिपी भेञ्चर तथा एनडिपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पिइभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ ।

साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कम्पनीले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरुको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरु गरेको बताउनुभयो ।

अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिका यात्रामा अघि बढाउन सक्ने बताउनु भयो भयो ।

एक वर्ष अघि स्थापना गरिएको यस कम्पनीको कूल पुँजी १० अर्ब रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयरधनीहरु रहेका छन् ।

यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सृजना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठूला उद्यमी/व्यवसायी तथा गैर आवासीय नेपालीहरुको समेत लगानीमा स्थापना गरिएको हो ।

मा प्रकाशित