
१६ कार्तिक,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ।
पर्यटन मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ।
अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’ कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उहाँले निर्देश गर्नुभयो।
अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन, सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उहाँले प्रश्न उठाउनुभयो।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गर्नुभएको थियो ।
निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ।
धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।’
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो।
मा प्रकाशित