
१९ कार्तिक, लुक्ला, सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आजभोलि सगरमाथा तथा अन्य हिमशृङ्खलाहरू अवलोकन गर्न आउने पर्यटकहरूको आगमनको चाप बढेकाे छ ।
हाल लुक्लामा दैनिक रुपमा हवाईजहाजले मात्र ६० भन्दा बढी उडान भर्दै आएको छन् भने हेलिकप्टर सहित करिब १६० भन्दा बढी उडान हुन भइरहेको छ ।
मध्य सिजनमा मौसम प्रतिकूलताका कारण प्रभावित बनेको सोलुखुम्बुको माथिल्लो क्षेत्रको पर्यटन मौसममा सुधार आएसँगै चलायमान भएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकहरूको चाप बढेको छ । अहिले मौसम सफा भएपछि केही दिनदेखि रोकिएर रहेका हजारौँ पर्यटकको चाप एकै पटक परेपछि उडानको चाप बढेको हो ।
मङ्गलवार तारा एयरलाइन्सले, सीता एयरलाइन्स, समिट एयरलाइन्सका हवाइजहाजले मात्र ८० उडान गरेको छ ।
विभिन्न कम्पनीका हेलिकप्टरहरूले २०० बढी उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बुधबार हवाइजहाजले ६० र हेलिकप्टरले १०० भन्दा बढी उडान गरेका छन् ।
बेमौसमको वर्षाको समाप्तिसँगै भएको पर्यटकको ओहोर दोहोरले हवाई उडान बढेको हो ।
यो सिजन कात्तिक महिनाभरि चल्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । हवाई मार्गबाट मात्र दैनिक १५०० पर्यटकको आवतजावत हुनेगरेको छ ।
अहिले सिजनको मध्ये समय भएको उनीहरूको भनाइ छ । हवाई मार्ग बाहेक यहाँका पदमार्गमा पनि बाह्य पर्यटकहरूको आवातजावत बढेको छ ।
पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरूलाई पर्यटक दर्ता गर्न भ्याई नभ्याई भएको कार्यालयले जनाएको छ । पदमार्ग र हवाई मार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूको जोरसल्ले प्रवेश द्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ ।
मा प्रकाशित