वीरगञ्ज नाका हुँदै ६८ करोडका २२९  विद्युतीय जीप,कार र भ्यान आयात

आर्थिक परिवेश

२० कार्तिक,   वीरगञ्ज (पर्सा)। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९  विद्युतीय जीप,कार र भ्यानहरू आयात भएका छन् ।

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ ।  गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो ।

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो ।

चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो ।

सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट रु  नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको तीन महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

मा प्रकाशित