नेपाल धितोपत्र बोर्डको काम सोमवारबाट सुचारु हुने

आर्थिक परिवेश

२३ कार्तिक,काठमाण्डौ ।    ४५ दिन देखि काम बन्द भएको नेपाली धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको काम सोमवारबाट सुचारु हुने भएको छ ।

बोर्डका आन्दोलनरत कर्मचारीहरुका माग सरकारले सम्बोधन गरिदिने भए पछि कर्मचारीहरु काममा फर्किने भएका हुन ।

डेढ महिनादेखि निरन्तर काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीहरु अर्थ मन्त्रालयमा भएको छलफल र सहमती पछि काममा फर्किएका हुन् ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गर्न निर्देशन दिएपछि कर्मचारीहरु ४५ दिनयता आन्दोलनमा थिए ।

खाइपाई आएको सुविधा कटौती हुने भएपछि काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी प्रतिनिधिहरुले अर्थ मन्त्रालका सहसचिव तथा संस्थान समन्वय महाशाखा प्रमुख महेश आचार्य र अर्थ कै प्रतिनिधिको रुपमा बोर्डमा सदस्य रहेका सहसचिव उत्तर कुमार खत्री संग छलफल गर्नु भएको थियो ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले सहसचिव द्वयले अर्थ मन्त्रालयले कर्मचारीहरुको माग पूरा गर्न सकारात्मक भएको बताएपछि सोमवारबाट कर्मचारीहरु एक घण्टा धर्ना जारी राख्दै काममा फर्किन तयार भएको बताउनु भयो ।

धितोपत्र बोर्डले पत्र पठाए पछि अर्थ मन्त्रालयले कोष खारेजका लागि पठाएको पत्रलाई पुनरवलोकन गर्ने सहमति भएको ढुंगानाले जानकारी दिनु भयो ।

आइतबार भएको छलफल सकारात्मक भएपछि कर्मचारीहरुले कात्तिक मसान्तसम्मका लागि काम सुचारु गरेका छन्।

धिताेपत्र बाेर्डले यस अघि अर्थले पठाएकाे पत्र पुनरवलोकन गर्न अनुराेध गर्दै पत्र पठाए पछि अर्थ मन्त्रालयले पत्रलाई पुनरवलोकन गर्ने सहमति गरेको भएकाे छ ।

मा प्रकाशित