काठमाण्डाैकाे  त्रिवि क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग भाेलिबाट शुरू हुँदै

आर्थिक परिवेश

३० कार्तिक, काठमाडौँ ।   नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेल सोमबारदेखि   काठमाण्डाैकाे  त्रिवि क्रिकेट मैदानमा  हुने भएको छ ।

पहिलो पटक एनपीएल फ्लड लाइटमुनि खेल हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच खेलाउन लागेकाे क्यानले जनाएको छ ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदै छन् ।

एनपीएलको उद्घाटन खेल  मङ्सिर १ गते सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

 

क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा

सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशाला निर्माणको पहिलो चरणको काम पूरा भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार हस्तान्तरण गरेको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण कार्यक्रममा सहभागी भए । योसँगै सोमबारदेखि  सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।

नेपाल क्रिकेट संघ र  त्रिवि बीच क्रिकेट मैदान प्रयोग गर्न सम्झौता

त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता म्याद वैशाख २०८३ मा सकिँदैछ ।

गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिइसकेको छ ।

अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार भने यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गरिने छ ।

 

पटक-पटक ताकेतापछि सकियो काम

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।

सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन ।

पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुन: म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ ।

पछिल्लो समय सहरी विकासमन्त्री घिसिङले २३ असोजमा कीर्तिपुर मैदानको स्थलगत अवलोकन गर्दै क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकता दिएको बताउनु भएकाे थियाे ।

 

रंगशाला हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब यो संरचना बनेसँगै नेपालमा पनि ‘डे–नाइट’ क्रिकेट खेल सम्भव भएको बताउनु भयाे ।

यसका लागि उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिनु भयाे  ।

तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको थियाे ।

यसै गरी हरेक प्रदेशमा त्यस प्रकारका पूर्वाधारहरू बनाउन सके क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुग्ने चन्दले बताउनु भयाे  ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले यो आयोजनाको काम छोटो समयमा काम सम्पन्न गर्न खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त पहलमा सम्भव भएको बताउनु भयाे  ।

 

अागामी दिनमा पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा हट्ने उहाँले विश्वास व्यक्त गर्नु भयाे   । रंगशालाको दोस्रो चरणको काम छिटो अगाडि बढ्ने अपेक्षा समेत उहाँकाे थियाे ।

रंगशाला हस्तान्तरण कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले क्रिकेट मैदान उज्यालो हुने गरी उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो लागेको बताउनु भयाे  । यसका लागि उहाँले विगतकाे केपी अाेली  सरकारको निर्णयलाई समेत स्मरण गर्नु भयाे ।

  मन्त्री  घिसिङले रंगशालाको पहिलो चरण सम्पन्न भएसँगै वर्तमान सरकारले १० अर्बको गुरुयोजना स्वीकृत गरेर दोस्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको जानकारी दिनु भयाे  ।

आगामी दुईदेखि तीन वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने र त्यसपछि मात्र सबै पूर्वाधार सम्पन्न क्रिकेट ग्राउन्ड बन्ने उहाँको भनाइ थियाे  ।

मा प्रकाशित