
१० मंसिर, काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवालाई सुशासन, दक्ष प्रशासन र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गर्नु भएकाे छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै अर्यालले निजामती सेवाको साख बढाउँदै जनसन्तुष्टि अभिवृद्धि आफ्नो कार्यकालको शीर्ष प्राथमिकता हुने स्पष्ट पार्नु भएकाे हाे ।
मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई निःस्वार्थ भावना र पूर्ण जिम्मेवारीबोधका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै , ‘मेरो शक्ति, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक-मैत्री बनाउँदै मुलुकको समग्र रूपान्तरणमा केन्द्रित हुने उल्लेख गर्नु भयाे ।
निजामती सेवाभित्रका कमजोरी सुधार्ने घोषणा
अर्यालले पछिल्ला वर्षमा निजामती सेवाबारे जनमानसमा बनेको नकारात्मक छवि-ढिलासुस्ती, गुटगत विभाजन, राजनीतिक प्रभाव, स्वार्थीपन र कमजोर कार्यशैली-उन्मूलन गर्न नेतृत्व तहले आचरण र कार्यशैलीमै आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे ।
“मुलुकको मेरुदण्ड मानिने निजामती सेवा जनताको नजरमा कमजोर बन्दै गएको छ, अब सुधार अपरिहार्य छ,’ उहाँकाे भनाइ थियाे ।
चुनाव र सुशासन पहिलो प्राथमिकता
वर्तमान सरकारका दुई प्रमुख दायित्व-आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र भ्रष्टाचारमुक्त सुशासनमा निजामती सेवाले पूर्ण सहयोग गर्ने बताउनु भयाे ।
पदबहालि पछि सचिवहरुलाई निर्देशन दिदै सचिव अर्यालले २९ बुँदे निर्देशन पनि जारी गर्नु भयाे । प्रमुख निर्देशनहरू यस प्रकार रहेका छन् ।
निर्वाचन सफल बनाउने, सुरक्षा समन्वय सुदृढ गर्न सहयोग गर्ने। ढिलासुस्ती अन्त्य, समयमै निर्णय, कार्यालयमा टोकन प्रणाली र रिपोर्ट कार्ड लागू गर्ने।
अनलाइन सेवा विस्तार, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सबै मन्त्रालयमा लागू गर्ने। गुनासो समाधानमा सक्रियता, ‘हेलो सरकार’ प्रभावकारी बनाउने।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने। विकास निर्माणमा गुणस्तर सुनिश्चित गर्दै अवरोध हटाउने।
जेनजी आन्दोलनले उठाएका सुधारका एजेन्डा उच्च प्राथमिकतामा राख्ने । प्रशासनिक खर्चमा मितव्ययिता, अनावश्यक संरचना नबनाउनेलगायत रहेका छन् ।
संविधानअनुसार सक्षम प्रशासन निर्माणमा जोड
अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउन संविधानले दिएको म्यान्डेट पालना गर्न राष्ट्रसेवकहरूलाई आग्रह गर्नु भयाे ।
‘सरकार जनताको घरदैलोमा निजामती सेवकमार्फत पुग्छ। हाम्रो व्यवहारमै सरकारको छवि प्रतिबिम्बित हुन्छ,’ उहाँकाे भनाइ थियाे ।
प्रधानमन्त्री कार्यालयलाई ‘उत्कृष्टता केन्द्र’ बनाउने लक्ष्य
मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई क्षमता, अनुगमन, मूल्यांकन र नीति-समन्वयको उत्कृष्ट केन्द्रका रूपमा उन्नत गर्ने व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त साेत व्यक्त गर्नु भयाे ।