
१६ मंसिर, काठमाण्डौ । नेपालका पर्यटन उत्पादनहरुको अन्तरराष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति गरेका छन् ।
समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलनलगायत सबै प्रमुख प्रवद्र्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ ।
निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोग्रामसम्मका प्रवद्र्र्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
दुवै संस्थाले अन्तरराष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् ।
समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तरराष्ट्रिय छवि तथा बजार पहुँच बिस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गर्नुभयो ।
मा प्रकाशित