२ पुस, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।
साउनदेखि मंसिरसम्म ४ सय ३८ वटा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजारबराबर र विभागमै स्वीकृत गराएर ३६ अर्ब ६१ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो।
प्रतिबद्धताबमोजिम लगानी भित्रिए ३३ हजार ८ सय १४ रोजगारी सिर्जना हुनेछ। मंसिरमा मात्रै ५६ वटाबाट १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५ सय ५२ रुपैयाँको एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ।
यो अवधिमा सबैभन्दा बढी सूचना प्रविधिमा २३६ वटा, पर्यटनमा १ सय ८५ वटा, सेवा क्षेत्रमा २८ वटा, खनिजमा १, कृषिमा १३, ऊर्जामा १ र उत्पादनमा २४ वटा उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ।
अघिल्लो आर्थिक वर्षमा जस्तै यस वर्ष पनि साउनदेखि मंसिरसम्म लगानी प्रतिबद्धताको प्रवृत्ति ओरालो लागेको देखिएको छ। त्यसैगरी यो अवधिमा व्यावसायिक भिसा लिनेको संख्या समेत घटेको छ।
गत वर्ष १७ सय ८२ लगानीकर्ताले यस्तो भिसा लिएकामा यस वर्षको सोही अवधिमा १ हजार ३२ जनाले मात्रै लिएका छन्। उनीहरुका प्रतिनिधि र डिपेन्डेन्टको संख्या समेत घटेको छ।
गत वर्ष क्रमशः १७८ र ३९५ रहेको संख्या यस वर्ष क्रमशः १५६ र ३०० मात्र छ।
सरकारले अघिल्लो वर्ष ९ वटा प्रविधि हस्तान्तरण सम्झौता गरेकामा यो ५ महिनामा ४ वटा मात्र गरेको छ।
विभागका अनुसार विदेशी लगानीकर्ताले यो अवधिमा ५ अर्ब लाभांश लगेका छन्।
