
१५ पुष, काठमाण्डौ । नेपालको कृषि तथा अर्थतन्त्रमा च्याउ खेतीले पुरयाएको योगदानलाई थप विस्तार गर्न र च्याउखेतीलाई अभियानकै रुपमा अघि बढाउन सरकारले यस बर्षदेखि १५ पुसलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन सुरु गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा भएसँगै पहिलो दिवस मनाइएको हो ।
नेपालको कुल गार्हस्थ कृषि उत्पादनमा च्याउ खेतीको योगदान ०.१५ प्रतिशत रहेको छ । हाल देशभरि करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न भई आयआर्जन गरिरहेका छन् ।
नेपालमा १ हजार १ सय ५० प्रजातिका च्याउ उत्पादन हुने गरेको पाइन्छ । जसमध्ये १ सय ४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १ सय प्रजाति विषालु रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
पछिल्लो समय च्याउ उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख हँुदै गएको छ । गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांक हेर्दा नेपालले च्याउ व्यापारबाट नाफा कमाएको देखिन्छ ।
एक बर्षको अवधिमा ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात हुँदा नेपालबाट १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ किलो च्याउ निर्यात भएको छ ।
पछिल्लो समय विशेष गरी सुकाएको च्याउको निर्यात बढ्न थालेको कृषि मन्त्रालयले जनाएको छ ।
पहिलो राष्ट्रिय च्याउ दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कृषिमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उपभोग बढाउँदै यसलाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको मुख्य आधार बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
छोटो समयमा उत्पादन लिन सकिने, थोरै जमिन र कृषि सामग्रीे प्रयोगबाटै खेती गर्न सकिने तथा नेपालको भौगोलिक विविधता अनुसार बाह्रै महिना उत्पादन गर्न सकिने भएकाले च्याउ खेती रोजगार सिर्जनाको उत्तम माध्यम भएको उल्लेख गर्नु भएको छ ।
मा प्रकाशित