
१९ पुष, मोरङ । माेरड.काे विराटनगरमा जारी विराट ट्रेड एक्स्पो करिब ५० करोडको कारोबार गर्दै सम्पन्न भएकाे छ ।
विराट ट्रेड एक्स्पो’को शनिवार साँझ समापन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरिरहेको बताउनुभयाे ।
मोरङ उद्योग व्यापार सङ्घ विराटनगरद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’को समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नवीनतम् प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमी गरेको योगदानले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको धारणा राख्नुभयो ।
“कोशी प्रदेश आर्थिक समृद्धिको असिम सम्भावना बोकेको औद्योगिक क्षेत्र हो, यस क्षेत्रले १६ प्रतिशत गार्हस्थ्य उत्पादन र २५ प्रतिशत औद्योगिक उत्पादन गरी राष्ट्रलाई योगदान पुर्याएको छ”,
उहाँले भन्नुभयो,“नेपाल–भारत परिवहन सन्धिको संशोधनले यो योगदानलाई थप बढाउने छ । कलकत्ता र विशाखापटनम बन्दरगाहबाट विराटनगर जोगवनीसम्म रेलमार्फत सबै किसिमका कार्गो
ढुवानीको कानुनी बाटो खुला भएकाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास छ ।”
वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनीतिक स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि बढेको भन्दै मन्त्री सिन्हाले सरकार युवा शक्तिलाई अधिकतम रूपमा राजनीतिको अग्रपङ्क्ति लैजान प्रतिबद्ध रहेको बताउनुभयो ।
सोहीअनुसार प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको उहाँको भनाइ थियो ।
सङ्घका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्व अध्यक्ष नवीन रिजालले एक्स्पोले नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पुर्याउन योगदान गरिरहेको बताउनुभयो ।
एक्स्पोमा नेपाली घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, अटो मोबाइल क्षेत्रका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुसहितका दुई सय बिक्री केन्द्र रहेका थिए ।
एक्स्पोमा तीन लाख स्वदेशी तथा भारतीय दर्शकले अवलोकन गर्नाका साथै करिब रु ५० करोडको कारोबार भएको आयोजकले जनाएको छ । यहाँ यही पुस ९ देखि एक्स्पो सञ्चालन गरिएको थियो ।
मा प्रकाशित