
२५ पुष, काठमाण्डौ । नेपालको करिब २२ हजार हेक्टर क्षेत्रफलमा किम्बु खेती, रेमश किरापालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूपमा विकास गर्न सके वार्षिक पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको औल्याइएको छ ।
ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त रुपमा शनिवार काठमाण्डौमा आयोजित राष्ट्रिय रेशम सम्मेलनमा ह्याण्डलुम फ्याब्रिक्सले त्यसतो जानकारी गराएको हो ।
सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बुखेती र रेशम किरापालन, विशेष वित्तीय, व्यापारिक तथा बिमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क ब्राण्डिङ’ र बजार पहुँचलगायत विषयमा छलफल भएको छ ।
सम्मेलनको उदघाटन गर्नुहुदै कृषि तथा पशुपन्छीमन्त्री डा मदनप्रसाद परियारले रेशमखेती उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो ।
उहाँले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं जलवायु अनुकूलित हरित अर्थतन्त्रको प्रवद्र्धनमा पनि रेशमखेतीले योगदान दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेलले हावापानीका हिसाबले नेपाल कृषि सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै यहाँका उत्पादनलाई पर्यटनसँग जोडेर लैजानु पर्ने धारणा राख्नुभयो ।
ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशनकुमार पोखरेलले रेशम कुनै साधारण रेशा मात्र नभइ इतिहास, संस्कृति, जीविकोपार्जन र भविष्यको सम्भावना भएको वस्तु भएको बताउनुभयो ।
कार्यक्रममा कृषि विभागका उपनिर्देशक राजेन्द्र कोइरालाले २५ वर्षअघिसम्म नेपालमा रेशमखेती राम्रो अवस्था रहेको उल्लेख गर्दैे त्यसलाई पुनर्जिवित तुल्याउन एक पटक सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीले रेशमले विश्वबजारको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनले यस क्षेत्रमा गरेको प्रगतिको नेपालले अनुशरण गर्न आवश्यक रहेको बतउनुभयो ।
मा प्रकाशित