गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै  निगमले १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमायाे

आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  नेपाल सरकारकाे स्वामित्वकाे नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै  १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६ औं वार्षिकोत्सवका अवसरमा अायाेजित कार्यक्रममा   खुद नाफाको तथ्यांक सार्वजनिक गर्नु भएकाे हाे  ।

कार्यक्रममा उहाँले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासकाे माध्यमबाट  संभव भएकाे उल्लेख गर्नु भयाे ।

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो ।

उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले जानकारी दिनु भयाे  । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबर राजस्वमा समेत  योगदान गरेको छ ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आर्थिक रूपमा सबल बन्न सकेकाे उल्लेख गर्नु भयाे  ।

निगमले पछिल्ला वर्षहरूमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ । मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ ।

यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा. भट्टले बताउनु भयाे  ।

यसैगरी, पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ ।

‘प्रविधितर्फ निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’

 डा. भट्टले   निगमले अब परम्परागत इन्धन व्यापारबाट माथि उठेर क्लिन इनर्जी र इन्धनकाे विधीकरणतर्फ लाग्ने योजना बनाएको उल्लेख गर्नु भयाे  ।

यस अन्तर्गत पेट्रोलमा इथानोल मिसाउने सरकारको नीतिलाई यसै वर्षदेखि कार्यान्वयनमा लगिने छ भने काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गरी सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यमा सघाउ पुर्‍‍याइने छ ।

पूर्वाधारतर्फ सिलिगुडी–चारआली र मोतिहारी–सर्लाही एलपीजी पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको कार्यकारी निर्देशक भट्टले बताउनु भयाे  ।

यस्तै सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपो स्थानान्तरण गर्ने प्रकृया अघि बढेकाे तथा  डिपो नभएको कर्णालीमा नयाँ डिपाे तथा  दुर्गमका  विभिन्न ३७ स्थानहरूमा  नयाँ पेट्रोल पम्प खोल्न दिने प्रकृया शुरू भएकाे डा. भट्टले  बताउनु भयाे ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा. भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गर्नु भयाे  ।

भट्टले इन्डियन आयल कर्पोरेसन, पेट्रोलियम व्यवसायी, ढुवानीकर्ता र प्रेस जगतको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निगमलाई अझै प्रतिस्पर्धी, पारदर्शी र आधुनिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे  ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निगमले अागामी दिनमा सक्षम र प्रतिस्रपर्धि भएर सेवा उपफब्ध गराउनु पने  बताउनु भयाे  ।

त्यस अघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निगमकाे नव र्निमित भवनकाे उद्घाटन समेत गर्नु भएकाे थियाे  ।

मा प्रकाशित