ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ लाइन अफ क्रेडिट हाे अर्थमन्त्री वाग्ले

आर्थिक परिवेश

८ मंसिर, काठमाडौं ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको बताउनु भएकाे छ ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

वाग्लेले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने

बताउनु भयाे ।

नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उहाँकाे  भनाइ थियाे ।

विशेषगरी प्रशारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उहााले ले बताए। यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्त्वपूर्ण उपलब्धि भएको दावी गर्नु भयाे ।

‘भारतबाट प्राप्त सहुलियतपूर्ण ऋण तथा लाइन अफ क्रेडिट विशेषगरी ऊर्जा र पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ,’ अर्थमन्त्री वाग्लेले भन्नु भयाे , ‘अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा ऋण लिन र भुक्तानी गर्न सकिने विकल्प प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसले विनिमय दरको जोखिम घटाउन सहयोग गर्नेछ।’

यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनको भनाइ छ। ऋण डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको उहाँको भनाइ छ।

‘भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्त्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको अर्थमद्दत्रीले बताउनु भयाे ।

यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए।

अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भयाे ।

नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अबसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाइएको जानकारी दिनु भयाे ।

सांसदहरूले सुनकोशी–सप्तकोशी आयोजनाबारे उठाएको जिज्ञासामा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताए। उनकाअनुसार सुनकोशी–सप्तकोशी हाइ ड्याम आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको छ।

‘सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनासम्बन्धी विषय पनि नयाँ होइन। सन् २००४ देखि नै विराटनगरमा नेपाल–भारत संयुक्त परियोजना कार्यालय स्थापना भई यस आयोजनाको अध्ययन तथा तयारी हुँदै आएको छ,’ उनले भने।

उक्त कार्यालयले आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम गर्ने म्यान्डेट पाएको उनले जानकारी दिनुभयाे ।

भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी दृष्टिपत्रबारे उठेका प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको बताउनु भयाे ।

उनकाअनुसार दृष्टिपत्रमा समेटिएका १० वटा स्तम्भ नै त्यसको कार्यक्षेत्र र कार्यादेश हुन्। यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अन्य दस्तावेज आवश्यक नपर्ने उहाँको तर्क छ।

कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायतका क्षेत्रलाई समेटेर दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दिशानिर्देश दिन खोजिएको उनले बताउनु भयाे ।

मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो।

मा प्रकाशित