बुढामगरले गरे विश्वका सातै महादेशका अग्ला चुचुराको आरोहण

आर्थिक परिवेश

२८ पुस,बेलायत।  समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका र दुबै खुट्टा नभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ ।

“शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो ।

“म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।”

४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बन्नुभएको छ ।

आफ्नो आरोहण अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए ।

मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।”

बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताउनुभयो ।

युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताउनुभयो ।

निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उहाँको बुझाइ छ । “यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ ।

तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उहाँले भन्नुभयो ।

“हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।”

मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गर्नुभएको थियो ।

त्यसैगरी उहाँले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो ।

योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाउनु भएको छ ।

मा प्रकाशित