माघे सङ्क्रान्तिमा डेढ करोडको कन्दमूलकाे काराेवार

आर्थिक परिवेश

 ३० पुष  पोखरा ।   माघे सङ्क्रान्तिलाई  लक्षित गरी पाेखरामा करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमूल भित्रिएको छ ।

माघे सङ्क्रान्तिमा विशेष रूपमा खाइने तरुल, सखरखण्डलगायतका कन्दमूल कास्कीका विभिन्न स्थानसँगै छिमेकी सहित देशका अन्य जिल्ला हुँदै भारतबाट समेत भित्रिएको व्यवसायीहरूले बताउनु भएको छ ।

पोखराको शान्ति वन वाटिकास्थित कृषि उपज बजार व्यवस्थापन (फलफूल तथा तरकारी बजार) देखि विभिन्न कृषि उपज बजार र फलफूल–तरकारी पसलहरूमा कन्दमूलको बिक्रीका लागि राखिएको छ।

बजारमा विभिन्न जातका तरुल न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २०० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ ।

पोखराका कन्दमूल व्यवसायी डम्बर बहादुर थापा अनुसार पन्जे तरुल प्रतिकेजी ७० रुपैयाँ, भैँसे तरुल ४५ देखि ५० रुपैयाँ, घर तरुल ७० देखि ७५ रुपैयाँ, सखरखण्ड ५० देखि ६५ रुपैयाँ र वन तरुल प्रतिकेजी २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

होलसेल मूल्यको तुलनामा खुद्रा बजारमा करिब ३० देखि ७० प्रतिशतसम्म मुनाफा हुने गरी कन्दमूलको कारोबार भइरहेको उहाँले बताउनुभयो।

उहाँले सिजनको कन्दमूलको व्यापार ४/५ लाखको गर्दै आउनु भएको छ । पोखरामा भारत सहित तनहुँ, गोर्खा, सर्लाही, हेटौँडा, पाल्पा, नवलपरासी लगायतका क्षेत्रबाट कन्दमूल भित्रिएको छ ।

पोखराको श्री कम्प्लेक्स कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले यस बर्ष आफूले कन्दमूलबाट एक महिनाको आम्दानी हुने गरी व्यापार गर्ने बताउनु भयो ।

जाडो मौसममा कन्दमूल सेवन गर्दा शरीरलाई आवश्यक ऊर्जा र खनिज पदार्थ प्राप्त हुने भएकाले यसको महत्व अझ बढ्ने गरेको अग्रजहरूको भनाइ छ ।

यसैबीच, माघे सङ्क्रान्तिको अवसरमा पोखराको ढुङ्गे साँघु क्षेत्रमा परम्परागत मेला लाग्ने गर्दछ । सोही अवसरमा भोलि (बिहीबार) त्यहाँ ‘हार्ट बजार’ समेत सञ्चालन हुने भएको छ ।

पछिल्लो समय मानव बस्ती विस्तारसँगै सितापाइला क्षेत्रमा खुला जमिनको अभाव हुँदा सडकमा अत्यधिक भिडभाड हुने गरेको छ । मेलासँगै विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना हुँदै आएका छन् ।

 

मा प्रकाशित