राष्ट्रपतिले जापानको औपचारिक भ्रमण गर्नुहुने

आर्थिक परिवेश

१७ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।

 

भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

 

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुने छ ।

उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताउनुभयो ।

 

सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच  पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

 

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै  राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ ।

 

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनुहुनेछ ।

मा प्रकाशित