अन्नपूर्ण क्षेत्रमा २५ वर्षमा २६ लाख ३२ हजार विदेशी पर्यटक भित्रिए

आर्थिक परिवेश

२६ माघ, काठमाण्डौ ।   पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् ।

उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ ।

कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो ।

सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए ।

उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो ।

त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो ।  सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गत वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

मा प्रकाशित