
१७ फागुन, काठमाण्डौ । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ ।
सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको निगमले जनाएको छ ।
विशेष व्यवस्था अन्र्तगत निगमले फागुनको १८,,२० ,२२ २३ र २४ गते सार्वजनिक विदाको दिन प्रादेशिक कार्यालयहरु खुल्ला राखेर इन्धन भर्ने व्यव्स्था गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयो ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउने छन ।
त्यसैगरी बाग्मती प्रादेशिक कार्यालय थानकोटले बिदाको दिन १८ फागुनमा पेट्रोलियम पदार्थ बिक्री गर्नेछ भने २० र २३ गते खुला रहने छ ।
उता गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछन् । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा भने फागुन १७, १८, २० र २३ गते सञ्चालन हुने निगमले जनाएको छ ।
यसैगरी कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने व्यवस्था मिलाएको निगमले जनाएको छ ।
मा प्रकाशित