
२६ फागुन, काठमाडौं । मंगलबार नेपाली शेयर बजारकाे काराेवार उच्च अकले घटेकाे छ । यस दिन परिसूचक उच्च अकले घटे पनि काराेवार भने उच्च रकमले बढेकाे छ । यसदिन बजारमा २१ अर्ब ५० कारोड २० लाख रुपैयाँको शेयरकाे किनबेच भएकाे छ ।
यो पछिल्लो ८ महिना यताकै उच्च कारोबार रकम हो । यस भन्दा पहिले २०८२ साउन ५ गते २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
मगंलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर बन्द भएको छ । प्रतिनिधि सभा निर्वाचनपछिको दोस्रो कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको हो ।
यसदिन नेप्से परिसूचक ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा झरेको छ । सोमबारको बजार तीन सर्किट ब्रेक लागेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको थियो ।
सोमबार नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको थियो । साेमवार ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ ६६ पैसा बराबरको शेयर खरिदबिक्री भएको थियो ।
निर्वाचनको मतगणना परिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ । सोही आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षाले लगानीकर्ता उत्साहित भएका हुन् ।
मंगलबार रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.०८ प्रतिशत बढेको छ भने कालिका पावर हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन सर्वाधिक घट्ने कम्पनीमा हिम स्टार कम्पनी परेको छ । यस कम्पनीको शेयर ६.३६ प्रतिशतले घटेर बन्द भएको हो ।
कारोबार रकमका आधारमा मंगलबार न्यादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला हाइड्रोपावरको ६९ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
१३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ ।
त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा उप समूहको सूचक सामान्य बढेको हो । त्यसैगरी, मंगलबारको बजारमा ब्यापार उपसमूहको सूचक सर्वाधिक अथार्त २.१२ प्रतिशत घटेको छ ।
फाइनान्स २.०६ प्रतिशत, बैंकिङ, विकास बैंक, होटल, लगानी तथा अन्य उप समूहको सूचक १ प्रतिशत भन्दा बढी घटेको हो ।