
२६ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। यो भनेको नेपाली ५ अर्ब ८७ करोड रुपैयाँबराबर हो।
डिजिटल रुपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवाहरुमा पहुँच विस्तार गर्न उक्त ऋण दिन लागिएको एडीबीले जनाएको छ।
एडिबि र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणाअन्तर्गत दक्षिण एसियामै पहिलोपटक नेपाल डिजिटल रुपान्तरण परियोजनालाई दिइने यस ऋणले देशको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलियो बनाउने छ।
यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक र प्रयोगकर्ताकेन्द्रित सार्वजनिक सेवाका पूर्वाधारलाई थप मजबुत बनाउने एडीबीको अपेक्षा छ।
यसले एउटा सुरक्षित सरकारीस्तरको डेटा एक्सचेन्ज प्लेटफर्म विकास गर्न सहयोग पुग्ने एडीबीले उल्लेख गरेको छ।
‘अब डिजिटल रुपान्तरण केवल विकल्प मात्र छैन, अब सार्वजनिक सेवा डेलिभरी र नेपालको आर्थिक विकासलाई सहयोगका लागि यो निकै महत्त्वपूर्ण छ’, नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउ केउकोइसले भने।
एडीबी र वर्ल्ड ब्यांकले समर्थन गरेको यो कार्यक्रमले सेवाको पहुँचलाई सहज बनाउने उनको भनाइ छ।
यो परियोजना नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयन गर्नेछ। यो नेपालको डिजिटल नेपाल फ्रेमवर्क २.०, १६औँ राष्ट्रिय योजना, ई गभर्नेन्स ब्लुप्रिन्ट र एडीबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ सँग सम्बन्धित रहेको छ।
मा प्रकाशित