विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ ऋण दिने

आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।   विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ (५ करोड २० लाख अमेरिकी डलर) बराबर ऋण स्वीकृत गरेको छ ।

नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि यो ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ । वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य छ ।

उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने, करिब ४ सय उद्योगलाई विद्युतीय बोयलर, आधुनिक भट्टी वा उन्नत प्रदूषण नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य छ ।

यो परियोजनाको प्राथमिकता बढी वायु प्रदूषण रहेको काठमाडौं उपत्यका, तराई र तल्लो पहाडी भेगमा हुनेसमेत विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिसलेनले वायु प्रदूषण नेपालका लागि जनस्वास्थ्यको संकटमात्र नभई आर्थिक भारसमेत भएको बताएका छन् ।

यसले उपचार खर्च बढ्ने र श्रम उत्पादकत्वमा कमी आउँदा कुल गार्हस्थ उत्पादनमै कमी आइरहेको उनले बताए । यो परियोजना उद्योग विभाग र वातावरण विभाग मार्फत कार्यान्वयन गरिँदैछ ।

मा प्रकाशित