०२ चैत्र,काठमाडौँ ।    बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ललितपुरकाे हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो ।

 

अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४.२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई ३ लाख रुपैयाँ तत्काल जरिबाना गरेको छ ।

 

विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको विभागका महानिर्देशक रोशन ज्ञवालीले जानकारी दिनुभयो  ।