
०४ चैत्र, काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन सम्बन्धीत निकायहरुलाई आग्रह गर्नु भएको छ ।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैङ्किङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा अर्थमन्त्री खनालले जोड दिनुभयो ।
सरकारी स्वामित्वका धेरै संस्थाहरू समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै नागरिक लगानी कोषले व्यावसायिक सफलता हासिल गर्न सफल भएको पनि अर्थ मन्त्रीले बताउनुभयो ।
कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सङ्कलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताउनुभयो ।
मा प्रकाशित