
०४ चैत्र, काठमाण्डौ । विश्व बैंकले ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि ८५ मिलियन अमेरिकी डलर अर्थात करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला समेटिने गरी ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ का लागि विश्व बैंकको यही मार्च १३ तारिखमा अमेरिकाको वासिङटनडिसीमा भएको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो ।
सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत अगाडि बढेको यो परियोजना कार्यान्वयन गर्न १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
विश्व बैंकले ऋण दिने निर्णय गरेपछि अब नेपाल सरकारलाई केही दिनमै औपचारिक जानकारी आउने र मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जाने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना नेपाल सरकारको सहरी विकास मन्त्रालयको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने एक समग्र पर्यटन–पूर्वाधार तथा सम्पदा संरक्षण कार्यक्रम हो ।
पूर्वमा नवपरासीको बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा र बीचको रुपन्देहीसहित तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य सहत केही वर्ष अघि सरकारले यो योजना अगाडि सारेको थियो ।
मा प्रकाशित