
१७ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।
अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विद्यमान समस्या एवम् समाधानका उपायका विषयमा छलफल गरेको हो ।
सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिनु भएकाे छ ।
उहाँले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पुराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्नु भयाे ।
उनले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । कानुनी रुपमा सम्पत्ति आर्जन गर्नु, पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माणका लागि सरकारले पनि सकारात्मक भूमिका खेल्नुपर्ने उहाँको जोड छ ।
बजारमा उत्पादनको माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा परिसंघले जोड दिएको छ ।

भेटमा अर्थमन्त्री वाग्लेले ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताउनु भयाे ।
उहाँले नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योगलाई सरकारले फरक रुपमा हेर्ने बताए ।
लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिने उनले बताए । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ छ ।
उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने तर उदारताको नाममा छाडा हुन नदिइने वाग्लेले बताउनु भयाे । मन्त्री वाग्लेले बहुराष्ट्रिय ठूला कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह समेत गर्नु भयाे ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनका प्रावधानमा संशोधन गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गर्नु भयाे।
सो छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, शशिकान्त अग्रवाल, उपाध्यक्षहरु हेमराज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्यद्वय विदूषी राणा, सन्दीप शारडा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।
मा प्रकाशित