
२० चैत, काठमाडौं । नेपाल सरकारले पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि शुक्रवारदेखि तीन दिनसम्म विशेष उद्धार उडान सन्चालन गर्ने भएकाे छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शुक्रवार ३ अप्रिलका दिन काठमाडौं–दुबई, ४ अप्रिलका दिन दुबई–काठमाडौं, ५ अप्रिलका दिन काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको परराष्ट मन्त्रालयले जनाएकाे छ ।
ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।
चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो ।
उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।
पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।
उडान तालिका
उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ ।
मा प्रकाशित