
२० चैत,काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालबाट हुने निर्यात २०.८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैकको पछिल्लो प्रतिवेदन अनुसार ८ महिनामा नेपालको निर्यात वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात भने १२.५ प्रतिशतले वृद्धि भएको छ । नेपालमा भएको आयात ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैया बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको छ ।
आयात निर्यातको अनुपात हेर्दा चालु आर्थिक वर्षको आठ महिनामा नेपालको कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई .१० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो ।
मा प्रकाशित