अर्थमन्त्रीकाे आश्वासन पछि शेयर बजार ८३.३३ अंकले बढ्याे

आर्थिक परिवेश

२३ चैत, काठमाडौं ।    अघिल्लो दिन १०५ अंकले  घटेको नेपाली सेयर बजार सोमबार भने ८३.३३ अंकले बढेको छ ।

सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो ।

अघिल्लो दिन उच्च अंकले  बजार घटेपछि साेमवार बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताउनु भएकाे थियाे ।

पदाधिकारीहरूसंगकाे भेटमा अर्थमन्त्रीले आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिनु भएकाे थियाे ।

त्यस्तै आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटमा पनि अर्थमन्त्री वाग्लेले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताउनु भएकाे थियाे ।

त्यस अवसरमा अर्थमन्त्रीले नेप्सेकाे पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पार्नु भएकाे थियाे  ।

अर्थमन्त्रीको आश्वासनले पनि साेमवारकाे बजार बढ्न मद्दत पुगेको भए पनि  कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा बजारमा साेमवार १० अर्ब ९२ करोडको काराेवार भएकाे छ  ।

यस दिन बजारमा २६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रहेकाे छ । साेमवार सबै समूहका उपसूचकहरू बढेका छन् ।

यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढ्यो ।

बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशत बढे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ तथा हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य १.६० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।

मा प्रकाशित