
५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशत बिन्दुले घटाएको छ ।
यसअघि गत अक्टोबरमा आईएमएफले नेपालले चालु आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
तर, त्यस प्रक्षेपणमा उच्च अंकले कटौती गर्दै आईएमएफले यो वर्ष ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो ।
मध्यपूर्वमा जारी तनाव तथा गत सेप्टेम्बरमा नेपालमा भएको आन्दोलनको प्रभावस्वरुप नेपालको आर्थिक वृद्धि कम हुने आईएमएफले उल्लेख गरेको छ ।
आगामी आर्थिक वर्ष २०२७ को आर्थिक वृद्धिको प्रक्षेपण पनि ०.५ प्रतिशत बिन्दुले घटाउँदै आईएमएफले ४.६ प्रतिशतमा सीमित गरेको छ ।
अहिलेको कठीन परिस्थितिमा आईएमएफ नेपाललाई सहयोग गर्न तयार रहेको एसिया प्यासिफिक विभागका उपनिर्देशक थोमल हेल्ब्लिङले बताउनु भएकाे छ ।
बिहीवार आईएमएफको एसिया प्यासिफिक क्षेत्रीय आउटलुक सार्वजनिक कार्यक्रममा उहाँले मध्यपूर्वको तनावले मूल्यवृद्धिको दबाब पनि बढाउने उल्लेख गर्नु भयाे ।
रासायनिक मलको लागत बढ्ने अनुमान
आउटलुक प्रतिवेदनले विशेष गरी नेपाल, लाओस र म्यानमार जस्ता देशहरूमा रासायनिक मलको लागत बढ्ने र यसले किसानको आम्दानी घटाउनुका साथै खाद्यान्नको मूल्य बढाउन सक्ने प्रक्षेपण समेत गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागत बढाउने र त्यसको प्रत्यक्ष असर भान्छा सम्म पुग्ने र एसिया विश्व आर्थिक वृद्धिको अगुवाका रुपमा कायमै रहने आईएमएफको एसिया तथा प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले बताउनु भयाे ।
यद्यपि, यस्तो कठिन परिस्थितिमा नेपालजस्ता न्यून आय भएका र जोखिममा रहेका देशलाई केन्द्रमा राखेर सहयोग गर्ने आईएमएफले जनाएको छ ।
नेपालमा आईएमएफको विस्तारित कर्जा सुविधा कार्यक्रमको सातौं तथा अन्तिम समीक्षामा कर्मचारीस्तरमा सहमति भएको र त्यो बोर्डमा गएको उहाँले बताउनुभयाे ।
एसियाली आर्थिक वृद्धि भने सन्तोषजनक
सन् २०२६ मा एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने आईएमएफले जनाएको छ । यो गत अक्टोबरमा गरिएको प्रक्षेपणको तुलनामा ०.३ प्रतिशत बिन्दुले बढी हो ।
सन् २०२६ को सुरुवातमा एसियाली अर्थतन्त्र सुदृढ अवस्थामा रहे पनि पछिल्लो समय विकसित भूराजनीतिक तनावले मुद्रास्फीति बढाउने र आर्थिक वृद्धिलाई सुस्त बनाउने जोखिम निम्त्याएको आईएमएफको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, एसिया विश्व आर्थिक वृद्धिको अगुवाका रुपमा कायमै रहने आईएमएफको एसिया तथा प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनकाे भनाइ छ ।
सन् २०२५ मा ५ प्रतिशतको विस्तार पाएको एसियाली अर्थतन्त्र सन् २०२६ मा ४.४ प्रतिशत र २०२७ मा ४.२ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।
चीन र भारतले यस क्षेत्रको वृद्धिको ७० प्रतिशत हिस्सा ओगट्ने अपेक्षा पनि आईएमएफले गरेको छ ।
प्रतिवेदन अनुसार, एसियामा मुद्रास्फीति (महँगी) यस वर्ष २.६ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो वर्ष १.४ प्रतिशत मात्र थियो ।
ऊर्जा संकट अझै लम्बिएमा सन् २०२७ सम्ममा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ देखि २ प्रतिशतसम्मको कमी आउन सक्ने चेतावनी दिएको छ ।
यो संकटसँग जुध्न आईएमएफले सरकारहरूलाई विशेष नीतिगत कदम चाल्न सुझाव दिएको छ । महँगी नियन्त्रणका लागि मौद्रिक नीतिलाई गतिशील बनाउनुपर्ने र विदेशी विनिमय दरलाई बजार अनुसार नै चल्न दिनुपर्ने आईएमएफको भनाइ छ ।
सरकारले दिने सहुलियत वा अनुदानहरू सबैलाई बाँड्नुभन्दा विपन्न र लक्षित वर्गलाई मात्र केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।
मा प्रकाशित