सर्किट ब्रेक २ पटक काराेवार समय बाहिर पनि किनबेच आवेदन हुने

आर्थिक परिवेश

 ०५ बैशाख ,काठमाडौं ।    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारका लागि नयाँ व्यवस्था ल्याएको छ । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’लाई संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गरेको हो । यो विनियमावली आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयन हुनेछ ।

संशोधित विनियमावली अनुसार अब नेप्सेमा सूचीकृत कम्पनीहरूको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमा (प्राइस लिमिट) १५ प्रतिशतसम्म  पुर्‍याइएको छ । हाल यस्तो व्यवस्था १० प्रतिशत थियो ।

नयाँ व्यवस्था अनुसार अब कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ । बजार खुल्नुअघिको ‘प्री–ओपन सेसन’ (बिहान १०ः३० देखि १०ः४५ बजेसम्म) को मूल्य सीमामा पनि संशोधन गरिएको छ ।
अब प्री–ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ । यसअघि २ प्रतिशतको सीमा थियो ।
‘प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ ।
यस सत्रमा कारोबार नभएका आदेशहरूलाई नियमित सत्रमा प्रविष्टि गरी कारोबार हुने व्यवस्था गर्नुपर्नेछ’, नयाँ व्यवस्थामा उल्लेख छ ।

यसअघि प्रचलनमा रहेको तीन तहको सर्किट ब्रेकर प्रणालीलाई हटाएर दुई तहको प्रणाली लागू गरिने भएको छ ।

कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ ।

त्यसपछि खुलेको बजारमा सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ ।

नयाँ व्यवस्था सँगै अब लगानीकर्ताहरुले बजारकाे काराेवार समय भन्दा  अन्य  समयमा पनि  शेयर किनबेचका लागि अादेश गर्न सक्ने छन् ।

खास गरी विदेशमा रहेका नेपालीहरुले यस व्यवस्थाबाट लाभ लिन सक्ने छन्  ।

 

मा प्रकाशित