निर्यात उत्साहजनक तर व्यापार घाटा १२ खर्ब ६७ अर्ब

आर्थिक परिवेश

०९ बैशाख,काठमाण्डौ ।    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट हुने निर्यातमा उत्साहजनक वृद्धि भएको छ ।

यस अवधीमा नेपालले २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधीमा निर्यात १८.४६ प्रतिशतले बढेको छ ।

यस अवधीमा नेपालबाट हुने निर्यातमा सबैभन्दा बढी योगदान प्रशोधित तेलले गरेको छ । विशेषगरी सोयाबिन र पाम तेलको निर्यातले कुल निर्यातमा ठूलो योगदान पुर्याएको देखिएको छ ।

चैत मसान्तसम्म प्रशोधित सोयाबिन तेलको निर्यात ९० अर्ब ७१ करोड रुपैयाँ बराबरको भएको छ । त्यसैगरी, आरबिडी पाम ओलिनको निर्यात ५ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी भएको छ ।

यस अवधीमा नेपालबाट हुने कृषिजन्य वस्तु अलैँचीको निर्यात १० अर्ब ७० करोड रुपैयाँ बराबरको भएको छ भने अन्य चिया (कालो तथा ग्रिन टी) को निर्यात २ अर्ब ६३ करोड रुपैयाँ बराबरको भएको छ ।

९ महिनाको अवधीमा नेपालबाट सिन्थेटिक धागो १० अर्ब ७५ करोड रुपैयाँ र ऊनी धागो २ अर्ब ४० करोड रुपैयाँको निर्यात छ ।

यस अवधीमा यार्सागुम्बाको निर्यात २५ करोड रुपैयाँ बराबरको भएको छ भने अन्य औषधिजन्य जडीबुटी र वनस्पतिहरूको निर्यात १ अर्ब २३ करोड रुपैयाँको भएको छ ।

९ महिनामा अम्रिसो (कुचो) को निर्यात ७४ करोड ९९ लाख रुपैयाँ बराबरको भएको छ । निर्यातमा वृद्धि भएपनि नौ महिनामा नेपालको आयात १३.८१ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

आयात र निर्यातमा ठुलो अन्तर भएकोले नेपालको व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

मा प्रकाशित