चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

आर्थिक परिवेश

१५ बैशाख,काठमाण्डौ ।    चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर आधारभूत मुल्यमा ३.६८ र उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले मंगलवार प्रकाशित गरेको विवरणमा जीडीपीको आकार ६६ खर्ब रुपैयाँ पुग्ने आकलन गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको थियो । यस बर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलरमा रहने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कले प्रतिव्यक्ति आयमा खासै सुधार हुन नसकेको देखाएको छ ।

गत आव २०८१/८२ मा प्रतिव्यक्ति आय एक हजार ५१६ डलर रहेको थियो । डलरको सटही दरमा भएको वृद्धिका कारण यस वर्ष प्रतिव्यक्ति आयमा केही गिरावट देखिएको तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईले बताउनु भयो ।

तथ्यांकअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) यस वर्ष एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान छ, जुन अघिल्लो वर्षको संशोधित अनुमानसँग बराबर रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार जीडीपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च छ । सेवा क्षेत्रअन्तर्गत व्यापार र वित्तीय मध्यस्थताजस्ता गतिविधिहरू पर्छन्।

चालू आर्थिक वर्षमा अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च ६१.८ प्रतिशत रहने विवरण केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जीडीपीमा सेवा क्षेत्रको योगदान विगत तीनै आर्थिक वर्षमा उच्च छ । पछिल्ला आर्थिक वर्षहरूमा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान खुम्चिँदै गएको छ भने विद्युतको हिस्सा ह्वात्तै बढेको छ ।

मा प्रकाशित