भारतले पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता जनायाे

आर्थिक परिवेश

२४ वैशाख, काठमाडौं ।   भारतीय विदेश मन्त्रालयले पेट्रोलियम पदार्थ र रासायनिक मलको   नेपाललाई निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापारिक र रणनीतिक सहकार्य बलियाे रहेको बताउनु भयाे  ।

नेपालमा अत्यावश्यक वस्तु आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले दुई देशबीचको आयात-निर्यात प्रक्रिया निरन्तर जारी रहेकाे समेत जानकारी दिनु भयाे  ।

‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा जुन सहयोग सम्झौता छ, हामीले सोही सम्झौता अनुसार नै इन्धन आपूर्ति गरिरहेका छौं,’ पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा प्रवक्ता जैसवालले भन्नु भयाे , ‘यो प्रक्रिया आगामी दिनमा पनि सोही अनुरूप चल्ने छ ।’

नेपालका लागि निकै संवेदनशील मानिएको रासायनिक मलका विषयमा भारतले सकारात्मक धारणा राखेको हाे  । ‘नेपालमा हामीले जुन रासायनिक मल आपूर्ति गर्नुपर्ने हो, त्यो हामी गर्छौं,’ उहाँकाे भनाइ थियाे  ।

पछिल्लो समय नेपालले भारतसँग रासायनिक मल खरिदका लागि ‘जीटुजी’ (सरकार-सरकार) सम्झौता गरेको छ ।

यस्तै पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच दशकौंदेखिको व्यावसायिक सम्बन्ध रहँदै आएको छ ।

मा प्रकाशित