तेलकाे भाउ बढ्दा विश्व शेयर बजारमा ठूलो गिरावट

आर्थिक परिवेश

  ०२ जेठ  न्युयोर्क।   तेलकाे मुल्य लगातार बढन थाले पछि विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ ।

तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् ।

विशेष गरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ ।

त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको बताइएको छ ।

पछिल्ला महिनामा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीको शेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको शेयर मात्रै ४ दशमलव ४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो ।

त्यस्तै माइक्रोन टेक्नोलोजीको शेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको शेयर मूल्य अझै पनि करिब १ सय ५४ प्रतिशतले माथि रहेको बताइएको छ ।

विश्लेषकले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् ।

बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ । यसबिच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ ।

विशेष गरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलक्षेत्र बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको हाे ।

तेल ट्याङ्कर आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ ।

तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ ।

मा प्रकाशित