
०६ जेठ, काठमाण्डौ । चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ ।
चालु आवमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । गण्डकीको ५.०१ प्रतिशत हुनेछ ।
अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो ।
यस आर्थिक बर्षमा मधेसको १.३१ प्रतिशत कोशीको ३.१३, लुम्बिनीको २.८७, कर्णाली २.९४ र सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।
यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको देखिन्छ । कोशीको गत वर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ ।
त्यस्तै मधेसको गत वर्ष ४.४३ प्रतिशत रहेकोमा अहिले १.३१ प्रतिशतमात्र भएको छ । बागमतीको गत वर्ष ५.२९ प्रतिशत वृद्धि भएकोमा अहिले ५.४० प्रतिशत हाराहारी वृद्धिदर देखिएको छ ।
यस वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन (उपभोक्ता मूल्य) मा ६६ खर्ब हुने अनुमान कार्यालयले गरेको छ । यसमध्ये बागमती प्रदेशले मात्र २४ खर्ब २३ अर्ब अर्थात् ३६.७ प्रतिशत हिस्सा ओगट्छ ।
यस आर्थिक बर्षमा प्रतिव्यक्ति आयतर्फ राष्ट्रिय औसत १ हजार ५ सय १३ अमेरिकी डलर हुने अनुमान छ ।
मा प्रकाशित