
०९ जेठ,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८८ अर्ब २२ करोड ८४ लाख मूल्य बराबरको नेपाली उत्पादनहरू निर्यात भएका छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्ममा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ को साउन, भदौ, असोज, कार्तिक, मङ्सिर ,पुस ,माघ, फागुन, चैत्र र बैशाख महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।
मुलुकको प्रमुख वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता
लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।
वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ ।
साउन, भदौ, असोज, कार्तिक मङ्सिर, पुस माघ ,फागुन, चैत्र र बैशाख महिनामा वीरगञ्ज नाकाबाट मात्रै ४८ अर्ब ११ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
त्यसैगरी वीरगञ्ज नाकाबाट सो अवधिमा ६ अर्ब ४२ करोड २९ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।
१० महिनाको अवधिमा ५ अर्ब ३५ करोड ५३ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने १ अर्ब ४ करोड ७ लाख मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
१० महिनामा ३ अर्ब ३ करोड ४३ लाख मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
सो अवधिमा १ अर्ब ९५ करोड मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।
वीरगञ्ज नाकाबाट सो अवधिमा २ अर्ब २५ करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसैगरी सो अवधिमा १ अर्ब ८२ करोड १४ लाख मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ निर्यात भएको छ ।
सो अवधिमा १ अर्ब २५ करोड मूल्य बराबरको चाउचाउ, नुडल्स, पास्ता, १ अर्ब २९ करोडको कुकुर बिरालाको खाना, ९० करोडको बोसो तेल र मैन, ९५ करोडको तोरीको तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनु भयो ।
वीरगञ्ज भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा,स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप, तयारी रसायन, उनी कार्पेट
गलैँचा लगायतका सामानहरू साउन देखी बैशाख मसान्त सम्ममा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।
मा प्रकाशित