
१० जेठ, काठमाडौं । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ।
चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो।
नेपाल पर्यटन बोर्डले तीनदिने अन्तरराष्ट्रिय पर्यटन मेलामा ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो।
मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तरराष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर वे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बजारका रूपमा हेरिएको छ।
विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
मेलाको उद्घाटन दिन २१ मे मा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा गन्तव्य नेपालसम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो।
उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिनु भएकाे थियाे ।
उहाँले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा सहभागिता जनाएका थिए।
उक्त मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी थिए। सहभागी कम्पनीले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए।
हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौँ–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन्।
यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनाका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास नेपाल पर्यटन बोर्डले लिएको छ।
मा प्रकाशित