
११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित रहेको बताउनु भएकाे छ ।
मन्त्रीपरिषदका निर्णयहरु सार्वजिनक गर्न मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पार्नु भयाे ।
प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न भन्नु भयाे ।
हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ । सभापतिज्युको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’

बजेट निर्माणको तयारीका विषयमा जानकारी दिँदै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तिब्रता दिएको पनि उहाँले उल्लेख गर्नु भयाे ।
उहाँकाअनुसार अधिकांश मन्त्रालयहरूले आ–आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् र बजेट निर्माण प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढिरहेको छ ।
सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ को रूपमा व्याख्या गर्नु भयाे ।
उहाँले , ‘सिंहदरबार भित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो।
कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो भन्नु भयाे ।’
आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उहाँले यसबारे मन्त्रिपरिषदमा कुनै विशेष छलफल नभएको जानकारी दिनु भयाे ।
यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उहाँको भनाइ थियो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
आव ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोकेकाे छ ।
नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने ।
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने ।