
१३ जेठ, सिङ्गापुर, । सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान बढाइएको छ । मलेसियास्थित इन्भेस्टमेन्ट बैङ्कले सन् २०२६ का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान गरेको छ, जुन पहिले ३.४ प्रतिशत थियो ।
यो सरकारी अनुमानित दुईदेखि चार प्रतिशतको दायराभन्दा माथि छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रवाह बढेकाले सन् २०२७ को वृद्धिदर पूर्वानुमान ३.१ प्रतिशतमा पुरयाएको छ ।
संस्थाका अनुसार एआई प्रविधिमा ठुलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ ।
पश्चिम एसियामा जारी द्वन्द्वले ऊर्जामा आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ । विशेष गरी समुद्री ढुवानी र हवाईक्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ ।
एआईसम्बन्धी पुँजीगत खर्च सन् २०२६ को दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ । प्रमुख अमेरिकी प्रविधि कम्पनीले खर्च बढाइरहेकाले सेमिकन्डक्टर र सर्भरसम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठुला परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ ।
अर्कातर्फ युनाइटेड ओभरसिज बैङ्क अनुसन्धान विभागले पनि सन् २०२६ को वृद्धि पूर्वानुमान २.५ प्रतिशतबाट बढाएर ३.२ प्रतिशत पु¥याएको छ ।
यसले पहिलो त्रैमासिकको अपेक्षाभन्दा राम्रो प्रदर्शन र एआईसम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ ।
रिपोर्ट अनुसार इलेक्ट्रोनिक्स क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ, विशेष गरी सेमिकन्डक्टर निर्यातमा ठुलो वृद्धि देखिएको छ ।
रिपोर्टले एआई आधारित प्रविधि चक्रले इलेक्ट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउने छ ।
केही विश्लेषकले भने भूराजनीतिक तनाव र आपूर्ति शृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन् ।
सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् २०२६ का लागि दुईदेखि चार प्रतिशतको वृद्धिदर अनुमान यथावत् राखेको छ, यद्यपि बाह्य जोखिम बढेको स्वीकार गरेको छ । रासस/सिन्ह्वा
मा प्रकाशित