
१८ जेठ, वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधनहरु आयात भएका छन् ।
गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।
गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो ।
चालु आवको १० महिनामा रु एक अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।
त्यसवापत रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने दुई करोड छ लाख मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।
यस्तै, चालु आवको १० महिनामा एक अर्ब १७ करोड मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा करोड ९६ लाख मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै रु २० करोड १५ लाख राजस्व सङ्कलन भएको थियो ।
यो नाका हुँदै चालु आवको १० महिनामा ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात नौ अर्ब ६५ करोडअर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ ।
चालु आवको १० महिनामा वीरगञ्ज हुँदै एक अर्ब २५ करोड मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।
जबकी गत आवको सोही अवधिमा १अर्ब ८१ करोड मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।
यस्तै, चालु आवको १० महिनामा ७ अर्ब ३२ करोड मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् ।
त्यसवापत ७ अर्ब ९ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ५अर्ब २१ करोड मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए ।
मा प्रकाशित