
१९ जेठ, काठमाण्डौ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ ।
कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच सातामा दुई उडान सञ्चालन गरिनेछ ।
कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो ।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ ।
मा प्रकाशित