मुलुकभरि कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक

आर्थिक परिवेश

२४ जेठ,काठमाण्डौ ।   देशभरि विद्युतीय सवारीसाधन(ईभी)को थप प्रवद्र्धनका लागि मुलुकभरि कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ ।

पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने आवश्यकता औल्याइएको हो ।

सन् २०३० सम्म उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवद्र्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख छ ।

हाल देशभरि कुल १ हजार चार्जिङ स्टेसन सञ्चालनमा छन् । अधिकांश स्टेसन विद्युतीय सवारीसाधनका आधिकारीक बिक्रेताले सञ्चालन गर्दै आएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भने १४२ किलोवाट क्षमताका ६२ वटा द्रुत गतिका चार्जर सञ्चालन गरिरहेको छ ।

साबिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यदल बनाएर विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि गर्नुपर्ने तयारीका बारेमा अध्ययन गरेको थियो ।

मन्त्रालयका सहसचिव कृष्णराज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार चार्जिङ पूर्वाधार,ब्याट्रीको लागत,सडक पूर्वाधार,ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाएको छ ।

प्रतिवेदनले विद्युतीय यातायातमैत्री भौतिक पूर्वाधारमा लगानी,निजी लगानी प्रोत्साहन,चार्जिङ स्टेसनहरू र ब्याट्री स्वापिङ(विद्युतीय सवारीसाधन चार्ज गर्ने आधुनिक र तीव्र प्रविधि) नीति,ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती,प्रविधिको अनुसन्धान र विकास,मापदण्ड तर्जुमा नहुनुलाई चुनौतीका रूपमा अघि सारेको छ ।

प्राधिकरणले चालु आवमा सात प्रमुख ठाउँमा पूर्वाधार विस्तारका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । हाल देशभर करिब १ लाख किलोमिटर सडक सञ्जाल पुगेको छ ।

मा प्रकाशित