द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छ अर्थमन्त्री वाग्ले

आर्थिक परिवेश

२६ जेठ काठमाडौँ ।    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड “द रिट्च कार्लटन” नेपाल भित्रिनु सुखद् भएको बताउनुभएको छ।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताउनु भएको हो ।

काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उहाँहरू बीच मन्त्रालयमा भेटघाट भएको हो ।

भेटमा अर्थमन्त्री डा‍.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिनुभयो ।

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उहाँले बताउनुभयो ।

नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौँ बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गर्नुभयो ।

लगानी सुरक्षा र प्रर्वद्धनका लागि आवश्यक पूर्वाधार एवम्  कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्ताहरूलाई दिनुभयो ।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्वस्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताउनुभयो ।

नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उहाँले थप लगानी विस्तार गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद् सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भन्नुभयो ।

भेटमा सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताउनुभयो ।

नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उहाँले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भेटमा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एशिया प्याशेफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

मा प्रकाशित