
२९ असार, काठमाण्डाै । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणा अनुसार काम गर्ने भएकाे छ ।
आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगको आगामी आर्थिक वर्षको कार्ययोजनामै आगामी २५ वर्षको राष्ट्रिय दृष्टिकोण समेटिएको जानकारी दिनु भयाे ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा उहाँले ‘भिजन २०५०’ अवधारणाले आगामी आवधिक योजनाहरू निर्माण गर्न दीर्घकालीन मार्गदर्शन गर्ने बताउनु भयाे ।
उहाँले सबै सरोकारवालासँग परामर्श गरेर नयाँ दीर्घकालीन सोच ‘भिजन २०५०’ अवधारणा तयार गरिने उल्लेख गर्नु भयाे ।
आयोगले प्रमाणमा आधारित नीति निर्माणका लागि तथ्याङ्कीय स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको समेत उपाध्यक्ष डा. भट्टले जानकारी दिनु भयाे ।
त्यसको लागी राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको समन्वय थप सुदृढ बनाउने उहाँकाे भनाई छ । आवश्यक तथ्याङ्क समयमै प्राप्त भएमा नीति निर्माण र अनुसन्धान दुवैलाई सहयोग गर्ने उपाध्यक्ष डा. गुणाकर भट्टले उल्लेख गर्नु भयाे ।
विगतमा केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई पुनः आयोगअन्तर्गत ल्याउन सके समयमै आवश्यक तथ्याङ्क प्राप्त गर्न, अनुसन्धान सुदृढ बनाउन र नीति निर्माणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्नु भयाे ।
विक्रम सम्वत २१०० मा पुग्दाखेरी नेपालको दीर्घकालीन सोच भन्ने राष्ट्रिय योजना आयोगले केही वर्ष पहिले १५ औँ योजनामा तर्जुमा गरेको थियो,
अब नेक्स्ट २५ वर्षको हाम्रो भिजन के हुन्छ भनेर भिजन २०५० को अवधारणामा पनि हामी काम गर्न शुरु गर्दैछौँ उपाध्यक्ष डा. गुणाकर भट्टले जानकारी गराउनु भयाे ।
उपाध्यक्ष भट्टकाअनुसार आयोगले आयोजना बैंक र ‘प्रोजेक्ट पाइपलाइन’ सम्बन्धी अवधारणाको पनि अध्ययन गरिरहेको छ ।
आयोजना छनोट र व्यवस्थापनमा आर्थिक दिगोपना, वातावरणीय दिगोपना र सामाजिक दिगोपनालाई उच्च प्राथमिकतामा राखी आवश्यक सूचकहरूको मूल्याङ्कन गर्ने तयारी गरिएको समेत उपाध्यक्ष डा. गुणाकर भट्टले बताउनु भयाे ।