६ दिन पछि शेयर बजारकाे काराेवार घट्याे

आर्थिक परिवेश

६ साउन, काठमाडौं ।    अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार भने १३.९५ अंकले घटेको छ ।

यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा राेकिएकाे  छ ।

यस दिनभर बजार राताम्य रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ भने ७ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो ।

अधिकांश समूहगत सूचक घटेका छन् । फाइनान्स ०.४९ र उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशत बढे । अरु सबै घटेका छन् । व्यापार सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.२४, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.२६, अन्य ०.९८ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । बुंगल हाइड्रोपावरको १०.५०, सालपा विकास बैंकको ५.९२, पियोर इनर्जीको ५.२३ तथा श्रीनगर एग्रिटेकको ४.३२ प्रतिशत मूल्य बढ्यो ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ३.९२, दिव्यश्वरी हाइड्रोपावरको ३.६७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, सिटी होटल छन् ।

मा प्रकाशित