बीरगंज हुँदै गत बर्षमा भारत तथा तेस्रो मुलुकतर्फ १ खर्ब १४ अर्ब ८३ करोडकाे निर्यात

आर्थिक परिवेश

  ०८ साउन बीरगंज।    देशकै प्रमुख व्यापारिक नाकाको रुपमा रहेको बीरगंज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब १४ अर्ब ८३ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक बर्ष २०८१/०८२ को तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०८१/०८२ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब ८ अर्ब मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका

नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

वीरगन्ज भन्सार नाकाहुँदै आर्थिक बर्ष २०८२/०८३ मा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । वीरगंज नाकाबाट मात्रै एक वर्षको अवधिमा ५८ अर्ब १२ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

त्यसैगरी वीरगंज नाकाबाट सो अवधिमा ७ अर्ब  ७ करोड ८४ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

एकबर्षमा वीरगन्ज नाकाबाट ६ अर्ब १५ करोड ५ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने ३ अर्ब ४८ करोड मूल्य बराबरको प्रशोधित सेन्थेटिक यार्न निर्यात भएको छ ।

आर्थिक बर्ष २०८२/०८३ मा ३ अर्ब ८३ करोड मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।

सो अवधिमा ३ अर्ब  १५ करोड मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।

वीरगंज नाकाबाट १ वर्षको अवधिमा २ अर्ब १३ करोड मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ निर्यात भएको छ ।

सो अवधिमा १ अर्ब ४५ करोड मूल्य बराबरको चाउचाउ, नुडल्स, पास्ता, १ अर्ब ४० करोडको पाम तेल ,१ अर्ब  ८ करोडको वत्तीसा, त्रिफला च्यवनप्रास ,

९४ करोडको बोसो तेल र मैन, १ अर्ब  २८ करोडको तोरीको तेल निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

बीरगंज भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन,  रेसाको कपडा,स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप, तयारी रसायन, उनी कार्पेट

गलैँचा लगायतका सामानहरू आर्थिक बर्ष २०८२/०८३ मा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

मा प्रकाशित