
१६ साउन, काठमाडौं । काेदाे बालीकाे महत्व,उपयाेगिता तथा प्रवर्द्धनकाे वारेमा चर्चा गर्दै शनिवार नेपालमा काेदाे दिवस मनाइदै छ ।
सरकारले ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन’ भन्ने मूल नारासाथ यस वर्ष ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ मनाउने लागेकाे छ ।
धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बालीका रूपमा रहेको कोदोको महत्त्व उजागर गर्न, खेती विस्तार गर्न र आम मानिसमा यसको उपभोग बढाउन
यो दिवस मनाउन लागिएको कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले जानकारी दिएको छ ।
पछिल्लो समय स्वास्थ्य सचेतना बढेसँगै कोदोको माग बढे पनि स्वदेशी उत्पादनले नधान्दा आयात चुलिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८२/८३ मा ६२ करोड २८ लाख रुपैयाँ बराबरको (४४.८८ टन) कोदो तथा जुनेलो आयात भएको छ ।
जबकि, सोही अवधिमा जम्मा १३ लाख २५ हजार रुपैयाँ बराबरको (२.११ टन) मात्र निर्यात भएको छ । यसले स्वदेशमै उत्पादन बढाउनुपर्ने टड्कारो आवश्यकता देखाएको छ ।
पोषण भण्डार र जलवायु अनुकूल बाली
विभागका अनुसार कोदो प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम र म्याग्नेसियमको राम्रो स्रोत हो । बदलिँदो आधुनिक जीवनशैलीका कारण बढ्दै गएका ‘नसर्ने रोग’ न्यूनीकरण गर्न कोदो उपभोग फलदायी हुने स्वास्थ्य मन्त्रालयको समेत ठहर छ ।
त्यसैगरी कम सिँचाइ र कम मलिलो पाखोबारीमा पनि फल्ने हुनाले यसलाई जलवायु परिवर्तन अनुकूल बालीका रूपमा लिइन्छ । कम कार्बन उत्सर्जन गर्ने यो बालीले हरितगृह ग्यास उत्सर्जन कम गर्न समेत सघाउ पुर्याउँछ ।
परम्परागत रूपमा रोटी, ढिँडो र सातुमा सीमित कोदोलाई अब केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा र डोनटजस्ता आधुनिक परिकार बनाएर युवापुस्ता र पर्यटकसम्म पुर्याउनुपर्नेमा विभागले जोड दिएको छ ।
कोदो संरक्षण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ जात दर्ता गरेको छ । यस्तै राष्ट्रिय जिन बैंकमा कोदोजन्य बालीका १ हजार २ सय ८० परिग्रहण सुरक्षित राखिएका छन् ।
सरकारले ६ वर्षदेखि करिब ५ सय स्थानीय तहमा कोदोजन्य बाली प्रवर्द्धनका लागि ससर्त अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।
सिन्धुपाल्चोकमा मूल समारोह
यस वर्षको दोस्रो राष्ट्रिय कोदो दिवसको मूल समारोह सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ ठोकर्पामा आयोजना हुने भएको छ ।
कृषि विभाग, सुनकोशी गाउँपालिका, राष्ट्रिय कृषक समूह महासंघ, लि–बर्ड, खाद्य तथा कृषि संगठन लगायत सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा कोदो रोपाइँ, सचेतनामूलक गतिविधि तथा कृषक, सामुदायिक बिउ बैंक र कृषि पत्रकारलाई पुरस्कार तथा कदरपत्र वितरण गरिने कृषि विभागका महानिर्देशक एवं मूल आयोजक समिति अध्यक्ष प्रकाशकुमार सन्जेलले जानकारी दिए ।
अखिल नेपाल किसान महासंघकाे माग
यसै सर्न्दभमा अखिल नेपाल किसान महासंघले जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, तापक्रम वृद्धि र कृषि उत्पादनमा जोखिम बढिरहेको वर्तमान अवस्थामा कम पानी र कठिन भूगोलमा पनि उत्पादन हुनसक्ने कोदोजन्य बालीहरूको महत्त्व अझै बढेको बताएको छ।
महासंघले एक विज्ञप्ती जारी गर्दैै कोदोको संरक्षण र विस्तारलाई खाद्य तथा पोषण सुरक्षासँग मात्र होइन, जलवायु अनुकूलन, कृषि जैविक विविधता र राष्ट्रिय खाद्य सम्प्रभुताको रणनीतिक आधारका रूपमा लिन आवश्यक छ भनेको छ ।
महासंघले हामी कोदो उत्पादक किसानलाई उत्पादन लागतका आधारमा लाभ सुनिश्चित हुने गरी कोदोको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, सरकारी संयन्त्रमार्फत खरिदको सुनिश्चितता गर्न माग गरेको छ ।
महासंघले स्थानीय तथा रैथाने कोदोका जात र बिउको संरक्षण, विकास र किसान बिच आदानप्रदानलाई प्रोत्साहन गर्दै बिउमाथि किसानको अधिकार सुनिश्चित गर्न, साना
तथा पारिवारिक किसान, महिला, युवा, दलित, आदिवासी(जनजाति, भूमिहीन तथा सीमान्तकृत किसानलाई लक्षित गरी कोदो उत्पादनका लागि सहुलियतपूर्ण ऋण, बीमा,
अनुदान, प्राविधिक सेवा तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउन, यान्त्रीकरणसहित कोदो खेतीलाई प्रवर्धन गर्न र कोदो उत्पादक किसानको जीवनमा समृद्धि ल्याउन नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।
मा प्रकाशित